Section 5
विदेशी लगानीमा बैंक वा वित्तीय संस्था संस्थापना गर्न पूर्व स्वीकृति लिनु पर्ने
(१) कुनै विदेशी बैंक वा वित्तीय संस्थाले नेपालमा संस्थापना भएको संगठित संस्था वा नेपाली नागरिकसँग मिली संयुक्त लगानीमा वा राष्ट्र बैंकले तोके बमोजिमको शेयर स्वामित्व कायम हुने गरी सहायक कम्पनीको रुपमा यस ऐन बमोजिम बैंक वा वित्तीय संस्था संस्थापना गर्न पूर्व स्वीकृति लिने प्रयोजनको लागि निवेदन दिँदा दफा ४ को उपदफा (१) मा उल्लिखित कागजातहरुका अतिरिक्त राष्ट्र बैंकले तोकेको दस्तुर सहित देहाय बमोजिमका कागजात तथा विवरण समेत पेश गर्नु पर्नेछः–
(क) विदेशी बैंक वा वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली तथा सम्बन्धित मुलुकमा उक्त बैंक वा वित्तीय संस्था दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र पूँजी संरचना,
(ख) विदेशी बैंक वा वित्तीय संस्थाको सम्बन्धित मुलुकमा बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्रको प्रतिलिपि,
(ग) कारोबार गर्ने मुख्य स्थान सम्बन्धी विवरण,
(घ) विदेशी बैंक वा वित्तीय संस्थाको लेखापरीक्षण गरिएको पछिल्लो तीन आर्थिक वर्षको वासलात र नाफा–नोक्सान हिसाबको प्रमाणित प्रतिलिपि,
(ङ) नेपालमा प्रस्तावित व्यवसायको योजना, व्यावसायिक रणनीति तथा सञ्चालन गर्ने कारोबारको किसिम, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन सम्बन्धी विवरण,
(च) विदेशी बैंक वा वित्तीय संस्थाले सम्बन्धित मुलुकको कानून बमोजिम नेपालमा बैंक वा वित्तीय संस्था खोल्न गरेको निर्णय र त्यस्तो मुलुकको नियमनकारी निकायले दिएको अख्तियारी ।
(२) उपदफा (१) बमोजिम पूर्व स्वीकृतिको लागि प्राप्त निवेदन र सो साथ संलग्न कागजातको जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैंकले कुनै शर्त तोकी वा नतोकी त्यसरी निवेदन पर्न आएको एकसय बीस दिनभित्र विदेशी बैंक वा वित्तीय संस्थालाई तोकिदिएको सीमासम्मको शेयर लगानी वा संयुक्त लगानीमा बैंक वा वित्तीय संस्था संस्थापना गर्न पूर्व स्वीकृति दिन सक्नेछ ।
(३) विदेशी बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सञ्चालनमा रहेको स्वदेशी बैंक वा वित्तीय संस्थामा राष्ट्र बैंकले तोके बमोजिमको प्रक्रिया पूरा गरी संयुक्त लगानीको रुपमा शेयर स्वामित्व लिन सक्नेछ ।
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि कुनै विदेशी बैंक वा वित्तीय संस्था वा अन्य कुनै विदेशी संस्थाले प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त गरी कुनै बैंक वा वित्तीय संस्थामा गरेको लगानी सो बैंक वा वित्तीय संस्थामा यथावत कायम रहेको मानिन्छ ।